fbpx
Dhangadhi_Upamahanagarpalika_ko_budget_1_arba_sadhe_14_crore

कैलालीको धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिवार भएको प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप वडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार रहेको छ ।

जनप्रतिनिधि आइसकेपछि प्रथम पटक भएको नगरसभा मार्फत प्रस्तुत भएको बजेट, नीति तथा कार्यक्रम विगतभन्दा केहि विकासमुखी देखिएको छ । २५ करोड ५५ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि छुट्टयाएको उपमहानगरपालिकाले पूँजीगत अर्थात विकास बजेट ८८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बजेट छुट्टयाएको छ । चालू खर्चभित्रै १६ करोड रुपैयाँ सामाजिक सुरक्षा कार्यक्रमका लागि छुट्टयाइएको उपमहानगर प्रमुख वडले बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा एकीकृत सम्पत्ति करको रकममा १५ प्रतिशत छुट दिने, हेल्प डेस्कको व्यवस्था, ठेक्का बन्दोबस्तीका लागि इ–बिडिङ प्रक्रिया थालनी गर्ने, छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने लगायतका योजना निति तथा कार्यक्रममा समेटेको छ ।

लक्षित वर्गका लागि छुट्टयाइएको ३५ प्रतिशत बजेटमध्ये महिला तथा बालबालिकाको लागि १०/१० प्रतिशत र अपाङ, दलित, पिछडिएका समुदाय, आदिवासी जनजाति, जेष्ठ नागरिकका लागि १५ प्रतिशत विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम विगतको तुलनामा विकासमुखी रहेको बौद्धिकवर्ग तथा नगरवासीले प्रक्रिया दिएका छन् । शिक्षाविद डा. हेमराज पन्तले नीति तथा कार्यक्रम राम्रो रहेको भन्दै कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो ।

अर्थविज्ञ शिवहरी मुडभरीले उपमहानगरपालिकाले व्यापार घाटा कम गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । उहाँले एकीकृत सम्पत्ति करलाई अझ वैज्ञानिक बनाउन आग्रह गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षाका लागि पहलकदमी भूमिका निर्वाह गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

सामुदायिक सूचना नेटवर्कबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: OOPS ! content Copyright Protected By Lets Go Media Pvt.LTD ! if you want this content you can simply contact us ! NepaliReport.com